बागलुङमा डेंगु संक्रमितको संख्या ६ पुग्यो

बागलुङ, २७ भदौ – बागलुङमा डेंगुको संक्रमितको संख्या ६ पुगेको छ । स्वास्थय कार्यालय बागलुङका अनुसार पछिल्लो समय धौलागिरी अञ्चल अस्पतालमा जाँच गराउन आएका मध्ये थप तीन जनामा संक्रमण देखिएको हो । दुई साता पहिले पोखरामा बस्दै आएका बागलुङको गल्कोटका एक जना र बागलुङ बजार र भीमापोखरामा एक एक जनामा संक्रमण देखा परेको थियो । धौलागिरि अञ्चल अस्पताल बागलुङमा डेंगूको संक्रमण भए नभएको भनेर जाँच गराउँन आउँने बिरामीको संख्यामा पनि वृद्धि भएको छ ।
अस्पतालमा चेक गराउन आउनेहरुबाट नै थप तीन जनामा संक्रमणको पहिचान भएको स्वास्थ्य कार्यालय बागलुङका क्षय कुष्ठ सुपरभाइजर देवप्रकाश घिमिरेले बताए । डेंगूको संक्रमण बढ्न थालेको र मृत्यु समेत भएको भन्ने समाचार प्रकाशन प्रशारण हुन थालेपछि अस्पतालमा चेक जाँच गराउँन आउनेको संख्यामा वृद्धि भएको अस्पतालले जनाएको छ । अस्पतालमा दैनिक १० जना भन्दा बढि विरामी आउँने गरेको धौलागिरि अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर शैलेन्द्र बि.पोखरेलले जानकारी दिए । अस्पतालले त्यस्ता बिरामीहरुको रगत, पिसाव जाँच गर्ने र सेतो रगतको कमी देखिएमा मात्र डेंगुको परिक्षण गर्ने गरेको छ ।
जिल्लामै डेंगुको संक्रमण भेटिए पछि बागलुङ नगरपालिकाको कार्यालयले सर्तकता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य कार्यालयले जिल्लाका सबै स्थानिय तहलाई यस प्रति सचेत हुनका लागि पत्रचार समेत गरेको छ । ‘अहिलेलाई शंकास्पद विरामीको धौलागिरी अञ्चल अस्पतालमा नै उपचार हुन्छ’ गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङका क्षय कुष्ठ सुपरभाइजर देवप्रकाश घिमिरेले भने, ‘छिट्टै जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्रबाट पनि चेक जाँच र उपचारको प्रबन्ध मिलाउने तयारी गरिरहेका छौं ।’ घिमिरेले गत मंगलबार देखि धौलागिरि अञ्चल अस्पताल बागलुङमै डेंगू किट मेसिन राखिएको र अब कुनै पनि समयमा शंकास्पद व्यत्तिहरुको जाँच गर्न सकिने बताए ।
डेंगुको सर्तकता अपनाउनको लागि जिल्लाका सञ्चार माध्यमबाट सूचना सन्देश प्रसारण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयले सर्तकताको सन्देशलाई व्यापकता दिन भाद्र २० गते बजार सरसफाई सहित बृहत सचेतनामूलक ¥याली निकालेको थियो भने २१ गते बागलुङ सदरमुकाम भित्रिने सिमा क्षेत्र मालढुंगामा निःशुल्क स्वास्थ्य जाँचको समेत गरेको जनाएको छ ।