प्रोत्साहन रकमले भौतिक संरचना निर्माण

बागलुङ, २८ भदौ – समुहमा उत्पादन गर्ने कृषकलाई प्रोत्साहन गर्न नगरपालिकाले दिएको रकमबाट यहाँका कृषि समुह तथा सहकारीले भौतिक संरचना निर्माण गरेका छन् । जिल्लाको जैमिनी नगरपालिकाको एक सहकारी र एक कृषक समुहले भवन र सडकमा प्रोत्साहन रकम खर्चेका हुन् । जैमिनी नगरपालिकाले व्यवसायीक रुपमा कृषि समुह तथा सहकारीमार्फत बार्षिक २० लाखभन्दा धेरैको उत्पादन गर्ने समुह तथा सहकारीलाई प्रोत्साहन रकम उपलव्ध गराएको थियो । नगरभित्रका दुई सहकारी र एक कृषक समुहले उक्त प्रोत्साहन रकम पाएका थिए । गत आर्थिक बर्षमा २० लाखभन्दा धेरैको उत्पादन गर्ने कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्था, स्वाबलम्बी मौरीपालक सहकारी संस्था र नमुना फलफुल तथा सुन्तला कृषक समुहलाई ४ लाख ४५ हजारका दरले प्रोत्साहन रकम उपलव्ध गराईएको नगरप्रमुख इन्द्रराज पौडेलले जानकारी दिए । प्रोत्साहन रकम पाएको कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले जैमिनी नगरपालिका–१ कुश्मीशेराको टुनिबोटमा उक्त रकम खर्चेर दुग्ध संकलन केन्द्रको भवन निर्माण गरेको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरमा स्थापना भएको सहकारीको कार्यक्षेत्र साविकको कुश्मीशेरा गाउँ विकास समितिको वडा नं १ र २ मा पनि रहेको छ । सहकारीको उप–केन्द्र बनाएर सो क्षेत्रमा कारोवार गर्दै आएको छ । सोही क्षेत्रमा उत्पादन भएको दुधको मुल्यांकनको आधारमा उक्त सहकारीले प्रोत्साहन रकम पाएको थियो । सहकारीले टुनिबोटमा रहेको संकलन केन्द्रबाट मात्रै बार्षिक ३२ लाखभन्दा धेरैको दुध संकलन गर्दै आएको छ ।
     बागलुङ कुश्मीशेरा सडक खण्डको छेउमा जस्तापाताको छाप्रो बनाएर दुध संकलन गरिँदै आएको थियो । घामपानी ओत्नेगरी संकलन केन्द्र नरहेकाले प्रोत्साहन रकमको सदुपयोग गर्दै संकलन केन्द्रको भवन निर्माण गरिएको सञ्चालक समितिका सचिव रुद्रनाथ शर्माले बताए । ५ लाख ४५ हजार रुपैयाँको लागतमा निर्माण भएको उक्त भवनका लागि वडा कार्यालयले भैपरी आउने कोषबाट एक लाख रुपैयाँ अनुदान उपलव्ध गराएको थियो । उत्पादनकै आधारमा प्रोत्साहन रकम पाएको नमुना फलफुल तथा सुन्तला कृषक समुह जैमिनी–२ दमेकले आधा रकम सडकमा खर्च गरेको छ । दमेकको चैरागमा रहेको सुन्तला बगानसम्म पुग्ने सडकको अभावमा सुन्तलाको बजारीकरणमा समस्या भएको भन्दै गत बर्ष नगरपालिकाले उक्त सडक निर्माणका लागि बजेट बिनियोजन गरेको थियो ।
        नगरले दिएको ४ लाख रुपैयाँ बजेट सडक निर्माणमा अपुग भएपछि प्रोत्साहन रकमबाट २ लाख १७ हजार रुपैयाँ खर्चेर कृषि सडक निर्माण गरिएको समुहका अध्यक्ष ओमप्रकाश सापकोटाले बताए । ‘बगानसम्म गाडी नपुगी सुन्तला निर्यात गर्न सकिएन, नगरले दिएको रकमले पुगेन’ सापकोटाले भने ‘रिनधन गरेर गत बर्ष बनाएको सडकको बाँकी रकम प्रोत्साहन रकम पाएपछि भुक्तानी गरेका हौं ।’
सडकमा खर्चेर बाँकी रहेको रकमले सुन्तला तथा अन्य फलफुल खेतीका लागि आवश्यक किटनाशक औषधि, निलोतुथो, भ¥याङ, स्प्रे–मेसीन लगायतका सामग्री खरिद गरेको सापकोटाले बताए । उक्त समुहले गत आर्थिक बर्षमा तीस लाखभन्दा धेरैको सुन्तला, कागती लगायतका बाली बिक्री गरेको थियो । प्रोत्साहन रकम पाएको स्वाबलम्बी मौरीपालक सहकारी संस्था जैमिनी –७ जैदीले भने खर्च नगरेको जनाएको छ । २०७१ सालमा स्थापना भएर मौरीपालन व्यवसाय गर्दै आएको सहकारीले उक्त रकम किसानलाई मौरीका घार थप गर्न खर्च गर्ने योजना बनाएको सहकारीका अध्यक्ष मोहराज शर्माले बताए । ‘असारका बेला रकम आयो मौरीका लागि सिजन थिएन’ शर्माले भने ‘किसानको मेहनतले पाएको रकम किसान कै हितमा खर्च गर्छाैं ।’ यो सहकारीले गत आर्थिक बर्षमा १६ लाख रुपैयाँको मह र ६ लाख रुपैयाँका मौरी सहितका घार बिक्री गरेको थियो । जैमिनी नगरपालिकाले सामूहिक कृषि व्यवसायलाई प्रोत्साहन गर्नका लागि भन्दै गत आर्थिक बर्षमा १५ लाख रुपैयाँ बजेटको व्यवस्था
गरेको थियो ।
        कम्तिमा २० लाखको उत्पादन गर्ने समुह तथा सहकारीलाई मात्रै प्रोत्साहन गर्नेगरी बनाईएको कार्यबिधिका आधारमा तीन समुहले प्रोत्साहन रकम पाएको नगरप्रमुख पौडेलले बताए । ‘नगरको समृद्धि र गरिबी निवारणका लागि हामीले स–साना भएपनि कार्यक्रम बनाएका छौं’ पौडेलले भने ‘यो बर्ष पनि कार्यक्रमले निरन्तरता पाउने छ तर प्रोत्साहनको प्रकृति परिवर्तन हुन्छ ।’ यो बर्षको प्रोत्साहन कार्यक्रम सञ्चालनका लागि कार्यबिधि बन्दै छ ।